रविमाथि प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न नारायणकाजीको माग

|

मंसिर २४,डेस्क। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथिको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग माग गरेका छन् ।

चीन भ्रमणमा रहेका श्रेष्ठले आफू देश बाहिर रहेको बेला लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको कुरा सामाजिक सञ्जालमा पोष्टाएका छन् ।

कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन नै नगरी सरकारले नाङ्गो भेदभावपूर्ण कार्य गरेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तिब्र पार्नु र त्यसको प्रतिफल आम जनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु हो । त्यसको लागि सबै प्रकारको अनियमितता एवं भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघिबढाएर सुशाशन कायम गर्नु आवश्यक छ ।

रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री श्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं। तर सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।

यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।

चर्चित समाचार


भर्खरै प्रकाशित