मंसिर १०, डेस्क। यहि मंसिर १५ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज (सोमबार) सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ ।
सोमबार नेपालको राजधानीको सुन्धारास्थित धरहराको काँखमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाल खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
मंसिर १५ गतेदेखि तीन सातासम्म त्रिवि क्रिकेट मैदानमा हुने लिगमा काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ टोली सहभागी हुँदैछन्। लिगका लागि ३० भन्दा बढी विदेशी खेलाडी समेत नेपाल आउँदैछन्।






