कात्तिक १०, डेस्क। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दवाव दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता गुरुङले अनुसन्धान नरोकिने प्रष्ट पार्नुभयो । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताउनुभयो ।
‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्’ उहाँले थप्नुभयो, “कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन, प्रक्रियाअनुसार सबै काम अघि बढिरहेको छ ।’
उहाँले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पार्नुभयो । ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङले भन्नुभयो ।
उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको बिकल्प नरहेको प्रष्ट पार्नुभयो । मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको बिपक्षमा रास्वपा उभिनु गलत रहेको उहाँले चर्चा गर्नुभयो ।






