आश्विन १६, डेस्क। नेपालीहरुको मन मस्तिष्कमा रहेको वडादशैँको आफ्नै महत्व रहेको छ । नेपालमा मात्र हैन हिन्दु धर्म प्रति आस्था राख्ने समुदायले बिश्वभरीनै विजया दशमी मनाउने गर्दछन । भारतमा पनि काली पुजा (नवरात्री) र बिजय दशमीको ठूलो महत्व छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने पर्व वडादशैँ भोलि आश्विन १७ गते देखि सुरु हुने भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन भोलि घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

भोलि बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समिति समितिले जनाएको छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
भोलि आश्विन १७ गतेको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले उक्त दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री भगवती देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।





