विश्वकर्मा पूजा किन मनाइन्छ, के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

|

भाद्र ३०, डेस्क। हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि रहेको हुन्छन् ।

त्यस्तै विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्र र हरेक किसिमका मेसिनहरुको पूजाआजा गर्छौं । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । आखिर किन यसो गरिएको होला ?

असोज १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले असोज १ गते उनको पूजा गरिन्छ । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

विश्वकर्मा भगवान को हुन् ?

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ ।

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

विश्वकर्मा पूजा विधि

बिहान नुहाएपछि चोखो कपडा लगाएर भगवानमा विश्वकर्माको मूर्ति अथवा तस्बिरको अघिल्तिर बस्नु पर्छ । भगवान विश्वकर्माको पूजा ९ आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाइ, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नु पर्छ ।

भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार ९ अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नु पर्छ ।

विश्वकर्मा पूजाको महत्व

हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित