सहकारी ठगीबारे संसदीय समिति र प्रधानमन्त्रीबीच छलफल

|

भदौ २९,डेस्क। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल शुरू गरेको छ ।

समितिले प्रधानमन्त्री ओलीसँग शनिवार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा छलफल शुरू गरेको हो ।

समितिको सभापतिमा प्रधानमन्त्री ओली नेतृत्वकै दल नेकपा (एमाले)का सांसद सूर्य थापा छन् । अन्तिम प्रतिवेदन तयार गर्नुअघि समितिले प्रधानमन्त्री छलफल गरिरहेको हो ।

प्रतिवेदन लेख्नुअघि आएका केही समस्याका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न गरिएको समितिकी सदस्य ईश्वरी न्यौपानेको भनाइ छ ।

‘कतिपय विषयमा सरकारले प्रष्ट नपार्दा हामीलाई समस्या भएको छ । कानूनका कतिपय विषय मिलाउनुपर्ने र सरकारले सहजीकरण गर्नुपर्ने विषय छन्,’ उनले भनिन्, ‘यस विषयमा हामीले गृहमन्त्री, प्रहरी प्रशासनसँग पनि छलफल गरिसकेका छौं । यसै शिलशिलामा शनिवार साँझ प्रधानमन्त्रीलाई पनि सिंहदरबारमा भेटिरहेका हौं ।’

शुक्रवार समितिले गृहमन्त्रीसहित गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग पनि भेट गरेको थियो ।

तीन महिना म्याद सकिएपछि भदौ २३ बाट समितिलाई १५ दिनको म्याद थपिएको थियो । समितिले असोजको पहिलो साता आसपास संसद्लाई प्रतिवेदन बुझाउने छ ।

समितिले देशभरका २९ वटा सहकारीमा भएको अर्बौं रकम अपचलनका विषयमा छानबिन गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित