नक्कली नोट बनाउने गिरोह पक्राउ

|

भाद्र १७,डेस्क।  नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएका हुन्।

पक्राउ पर्नेहरुमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, साेही ठाउँका ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई रहेका छन्।

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका आठ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित