भाद्र १५, डेस्क । सिरहाको लहानस्थित राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छड्के अनुगमन गरेका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्योपचारमा बेवास्ता गर्ने र उपचार प्रक्रिया महँगो तथा दिक्कलाग्दो हुनेगरी गरीबगुरुवाको पहुँचबाहिर हुन थालेको गुनासोपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले हिजो शुक्रबार राति छड्के अनुगमन गरेका छन् ।
मुख्यमन्त्री सिँहले अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा उनले जानकारी लिएका छन् ।
निरीक्षणक्रममा उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका छन् ।
धेरैजसो कुरुवाहरूले भने डाक्टर नबस्ने, जस्ता खाले गुनासो मुख्यमन्त्री समक्ष कुरुवाहरूले भनेका छन्।
‘कुनै पनि निहुँमा उपचारकार्यमा ढिलाइ र हेलचेक्रयाइँ बर्दाश्त गरिँदैन,’ अस्पतालका कर्मचारीहरूलाई मुख्यमन्त्री सिँहले भने, ‘असल काम गर्नेलाई पुरस्कार तथा प्रोत्साहन अनि गलत गर्नेलाई कारबाही गर्ने सरकारको नीति स्वास्थ्यसंस्थामा पनि कडाइका साथ अवलम्बन गरिनेछ ।’






