बजारमा अण्डाको माग बढेपछि मूल्य पनि बढ्यो

|

भाद्र ०९, डेस्क। नेपाली बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको बताएका छन् । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।

हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको बताए ।

व्यवसायीले एक्सल अण्डा प्रतिक्रेट (३० वटा) को ५०५ रुपैयाँ तय गरेका छन्। ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्नसक्ने भनेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गरेका हुन्।

नेपाल लेयर्स कुखुरा पालक संघ चितवनका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए। झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले दाबी गरे।

चर्चित समाचार


भर्खरै प्रकाशित