भाद्र ०७, डेस्क। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नको लागि “कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकार” बिच आज चार बुँदे सहमति भएको छ । चार बुँदे सहमति भएपछि कमला पुल निर्माण संघर्ष समितिले आफ्नो आन्दोलन स्थगन गरेका छन्।
कमला पुल निर्माण संघर्ष समितिका प्रतिनिधि र मधेश प्रदेश सरकार बीचमा भएको वार्तामा पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न, २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने र नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको हो।
यसबाहेक प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नभएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।







