भाद्र ०६, डेस्क। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको लागि सिराहाका १० जना युवा मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयका अगाडि तीन दिनदेखि आमरण अनसनमा छन् ।
आमरण अनशन बसेका तीनजना युवाको स्वास्थ्यमा समस्या देखिएको छ। मंगलबार दिउँसो आमरण अनशन बसेका अनशनकारी औरही गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष जिवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साहको स्वास्थ्यमा समस्या देखिएको छ।
मंगलबार मधेशको मुख्यमन्त्री कार्यालय अगाडि पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रविण यादवको नेतृत्वमा १० जना युवा दिउँसो १ बजेदेखि आमरण अनशन बसेेका हुन् ।
२७ साउनमा संघर्ष समितिले दर्जनौंको संख्या सिरहा सदरमुकाम सिरहाबाट मोटरसाइकल जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया सात दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएको थियो ।
दिएको अल्टिमेटम भित्र मधेश सरकारले कुनै चाँसो नदेखाएको कारण बाध्य भएर आमरण अनशन सुरु गरेको संयोजक यादवले बताए ।
तराई मधेसको लाइफ लाइन मानिएको हुलाकी सडक २०७८ असार महिनामा भासिएको थियो । निर्माण सम्पन्न भएपछि सञ्चालनमा नआउँदै त्यो पुल भासिएपछि निर्माण कम्पनीले त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याइने बताएका थियो ।
तर पुल भासिएको तीन वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म त्यसको अवस्था जस्ताको तस्तै रहेको छ । करिब १३ वर्षदेखि यो पुलको निर्माण कार्य जारी छ । २०६८ जेठ ३१ गते ४२ महिनाभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले सो पुल निर्माणको ठेक्का पाएका थिए । तर समयमा निर्माण गर्न नसकेपछि ती कम्पनीको ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो ।
पुल पुनः निर्माणका लागि सिराहामा पटक पटक आन्दोलन भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले समेत पुल निर्माण समयमा हुन्छ भनेर प्रतिबद्धता जनाएका छन् । पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।






