एक महिनामा १२ अर्ब १६ करोड राजस्व संकलन

|

भाद्र ०४,डेस्क। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२.११ प्रतिशत संकलन गरेको हो ।

भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५.९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व संकलन गरेको थियो ।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा ३.५३ प्रतिशतले कम हो ।

आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा २ अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

गत आव २०८०/८१ को साउनमा २ अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको साउन महिनामा ७.१६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा ५ प्रतिशत रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित