असार २५, डेस्क। विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ भने दुईजना घाइते छन् ।
मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए।
कामतको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । भने उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
यस घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेहरुको कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ। प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ । साथै यस घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।





