सुनसरी र सप्तरीमा कोशी बाढीको क्षति रोक्न उच्च सतर्कता

|

असार १९, डेस्क। सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई दृष्टिगत गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक बसेको हो। बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ अघि बढाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बाढीसँगै कोशीमा डुङ्गा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको जानकारी दिएका छन्। बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय गरेको तिवारीले बताएका छन्।

त्येस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीका अनुसार सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ ।

यसैगरी, ब्यारेजमा सम्पन्न प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण गरेको छ । सप्तकोशी नदीमा केही दिन यता दुई लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।

सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित