असार ०७, डेस्क। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असारको दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
परीक्षा लिएको मितिअनुसार दोस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डले जनाएको छ । १५ चैतदेखि सुरु भएको एसइईमा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट ५ लाख ४ हजार ४१४ विद्यार्थीले परीक्षा दिएका थिए ।
बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
क्यालेन्डरमा उल्लेख गरिएभन्दा छिटो नतिजा प्रकाशन गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनका अनुसार ‘क्यालेन्डर अनुसार एसइईको नतिजा असार तेस्रो साताभित्र निकाल्नुपर्ने हो, तर हामीले त्योभन्दा छिटो गर्छौँ, दोस्रो साताभित्र नतिजा ल्याउने तयारीमा छौँ,’ उनले भने, ‘कक्षा १२ को नतिजा पनि तेस्रो साता प्रकाशन हुन्छ ।’





