असार ०७, डेस्क। बुटवलमा रहेको एउटा मार्टमा आगलागी हुदा करिब ४० करोडको क्षति भएको अनुमान गरेको छ।
बुटवल स्तिथ मिलनचोकको डेल्टा एजसकेसन मार्टमा हिजो बिहीबार आगलागी भएको थियो। उक्त आगलागी साँझ ७ बजेतिर लागेको आगो करिब ५ घण्टापछि मध्यरातमा नियन्त्रणमा आएको थियो ।
फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकलसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयबासीको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिएका छन्।
मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिए पनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।





