परीक्षाको नतिजा प्रकाशित नहुँदै आगामी एसईईको तालिका सार्वजनिक

|

असार ०६, डेस्क। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।

परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ ।

त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ । प्रश्नपत्र छपाई र ढुवानी कार्य फागुन १ गतेदेखि फागुन मसान्तसम्म गरिसक्नुपर्ने तालिकामा उल्लेख छ ।

परीक्षाको समय तालिका प्रकाशन माघ १ गते हुने छ भने परीक्षा केन्द्र निर्धारण माघ पहिलो हप्ताभित्र हुनेछ । पुरक परीक्षा सञ्चालन २०८२ साउन १९ र २० गते सञ्चालन गरिनेछ । परीक्षाको नतिजा भदौ २० गतेभित्र प्रकाशन हुनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित