जेष्ठ ३२, डेस्क। बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किँदा बस नदी किनारमा खसेको हो ।
बसमा जम्मा ४५ जना यात्री सवार भएका थिए । सबै यात्रीको अवस्था सामान्य रहेको छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।
अन्य केही यात्रुहरु पनि घाइते भएका र उनीहरुलाई विभन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । दुर्घटनास्थलमा सशस्त्र प्रहरी विपद व्यवस्थापनको टोली र इलाका प्रहरी कार्यालय मुग्लिनको टोली उद्धारमा खटिएका छन् ।





