जेष्ठ २१, डेस्क। देशभरको तापक्रम सामान्य मात्र घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ४४ डिग्रीसम्म पुगेको पश्चिम तराईका भूभागहरुसहित देशभरको तापक्रम अहिले ४० डिग्री भन्दा तल घटेको हो।
पहाडी भूभागहरू वर्षा र बदलीका कारण तापक्रम घटेको मौसमविद रोजन लामिछानेले बताए। केही दिनअघिसम्म पश्चिम तराईका भूभागहरुमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। आइतबार तापक्रम घटेर ४० भन्दा कम पुगेको महशाखाले सार्वजनिक गरेको विवरणा उल्लेख छ।
आइतबार धनगढीको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन भएको थियो। त्यस्तै नेपालगन्जको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस मापन भएको थियो। मध्य र पूर्वी तराईमा तापक्रम अझै घटेको विभागको तथ्यांकमा उल्लेख छ। विभागकाअनुसार आइतबार विराटनगरको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस मापन भएको थियो। जनकपुरमा ३३.८ डिग्री सेल्सियस, सिमरामा ३२ डिग्री सेल्सियस मापन भएको थियो।
त्यस्तै भैरहवामा ३३.७ डिग्री सेल्सियस, घोराहीमा ३२.६ डिग्री सेल्सियस मापन भएको थियो। सोमबार पश्चिम तराईमा तापक्रम केही बढ्न सक्ने मौसमविद् लामिछानेले बताएका छन्।
साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो।





