जेष्ठ १८, डेस्क। दर्शकको रोजाइ र सिनेमा हलको प्रकृति बदलिँदै जाँदा देशभरका ३ सयभन्दा बढी सिनेमा हलहरु बन्द भएको छ । कुनै समय साढे ४ सयको सङ्ख्यामा रहेका हल यतिबेला घटेर १३८ हाराहारीमा खुम्चिएका छन् ।
नेपाल चलचित्र सङ्घका अनुसार अहिले ३०० भन्दा बढी हल बन्द भएका छन् । नेपाल चलचित्र विकास बोर्डका अनुसार नेपालमा ४४२ हल (मल्टिप्लेक्सका प्रत्येक पर्दालाई हलको सङ्ख्यामा गणना गर्दा) सञ्चालनमा थिए ।
जस अनुसार झापामा २१, पाँचथरमा २, मोरङमा २५, सुनसरीमा १९, इलाममा १, धनकुटामा २, भोजपुरमा १, सप्तरीमा ८, सिरहामा ७, उदयपुरमा ५, खोटाङमा २, सर्लाहीमा ८, धनुषामा १४, महोत्तरीमा ५, दोलखामा २, सिन्धुलीमा १, बर्दिवासमा १, मकवानपुरमा ६, रौतहटमा ६ वटा हल रहेको तथ्याङ्कले देखाउँछ । त्यसैगरी चितवनमा १३, बारामा १४, पर्सामा १३, भक्तपुरमा ९, काठमाडौँमा ८५, ललितपुरमा १६, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १, काभ्रेपलान्चोकमा ४, धादिङमा २, लमजुङमा ५, तनहुँमा १३, कास्कीमा १४, गोरखामा २, स्याङ्जामा २, बागलुङमा ४, पर्वतमा ४, म्याग्दीमा ३, कपिलबस्तुमा ९, रुपन्देहीमा १६, नवलपरासीमा ११, बुटवलमा २, गुल्मीमा ३, पाल्पामा १, दाङमा १४, प्युठानमा १, बर्दियामा ९, सल्यानमा १, बाँकेमा ८, सुर्खेतमा ४, जुम्लामा १, कैलालीमा १५ र कञ्चनपुरमा ८ हल सञ्चालनमा थिए ।
देशभर ४४२ पर्दा (हल) मा अहिले १३८ पर्दामात्र सञ्चालनमा रहेको नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताएका हुन् । ‘बन्द भएका सबै हल एकै समय बन्द भएका होइनन्,’ उनले भने, ‘कुनै हल कोरोनाका कारण बन्द भयो । कुनै त्यसभन्दा अगाडि र पछाडि बन्द भएका हुन् ।’ हलको सङ्ख्या यसरी घट्नु भनेको चिन्ताको विषय रहेको उनले बताएका हुन्।






