जेष्ठ ०१,डेस्क। धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा समाधान गरिएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो।
मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रियाबाट अनिताले छोरा जन्माएकी थिइन् । शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार विहान उनको मृत्यु भएको यादवको भनाइ छ ।
हिजो अपराह्न मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा साढे १३ लाख रकम र एकजनालाई रोजगारी दिने सहमति भएको छ । मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी जम्मा १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यता अनुसारको जागिर दिने सहमति भएको एक आफन्तले बताएका छन्।
अस्पतालका निर्देशक धर्म सुवेदीले उपचारमा लापरवाही नभएको दाबी गरे । तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ । ‘शल्यक्रियामा डाक्टरको कुनै कमजोरी छैन । जबरजस्ती तोडफोड गरेपछि प्रहरीले पनि केही गरेन’, निर्देशक सुवेदीले भने, ‘यस्तो बेला के गर्ने बाध्यता हो ।’
सहमतिपछि मृतकका परिवारले शव बुझेका छन् ।





