विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

|

वैशाख २६,डेस्क। नुवाकोटमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन्। उनका अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।

उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिएका हुन्।

काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा ३ क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।

बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकार को उपचारको क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि आज नै काठमाडौँ पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने यस घटनाबारे थप अनुसन्धानभई रहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित