चैत्र २८,डेस्क। जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले २०४७ सालपछिका सबै नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सबै नेता र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरेका छन् ।
बहुदलपछि खाली खुट्टा आएका नेताहरुको अहिले काठमाडौंमा चार-चार वटा घर कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताए । उनले भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर चित्त बुझाउने ठाउँ हुने बताए ।
‘२०४७ सालपछिका सबै नेता र कर्मचारीको सम्पत्तिको छानविन गरौँ । ०४६ सालपछि बहुदल आयो । त्यो बेला खाली खुट्टा राजधानी आएका नेताहरुले अहिले काठमाडौंमा चार-पाँच वटा घर, पँजेरो कहाँबाट ल्याए? त्यसको छानविन गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएपछि मात्रै जनतामा रहेको निराशा हटेर जान्छ ।’
उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।





