चैत्र १०, डेस्क। इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटले विजयी भएको हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, दिनेश कार्तिकले २६ बलमा ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले २३ बलमा ३५ रन हिर्काए । विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रनको योगदान दिए ।
बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । उनले १५ बलमा ३ चौका र ३ छक्का हिर्काए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए ।
शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।





