माघ २०,डेस्क। उद्योग वाणिज्य संघ, जनकपुरधामले सुनचाँदी व्यवसायीलाई पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्ने घोषणा गरेका छन्।
संघले व्यवसायीमाथि झुटो आरोपमा मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित आइतबार (भोलि) मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने भएको छ । ज्ञापनपत्र बुझाउनकै लागि आइतबार दिउँसो २ बजेसम्मका लागि संघले बजार, उद्योग र व्यवसायिक प्रतिष्ठान बन्द गर्न आह्वान समेत गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीको व्यवहारले उद्योगी, व्यवसायी असुरक्षित महसुस गरिरहेको बताएका छन्। उनले राजश्व छलेको आरोपमा व्यवसायीहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा झुटा मुद्दा लगाएको दाबी समेत गरेका छन् ।
‘प्रहरीको नियत गलत देखिएको छ । उनीहरुमाथि कारबाही हुनुपर्छ’ उनले भने, ‘यसका लागि मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख र सीडीओलाई ज्ञापनपत्र बुझाउँदै छौँ ।’






