माघ १८,डेस्क। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच केहि दिन यता हातपात भएको घटनाको छानबिन सकिएको छ ।
बुधबार (हिजो) सहसचिव एवं छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । यही माघ १२ गते मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा गठित समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरेको छ । यसबारे प्रहरी प्रधान कार्यालय नक्सालले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।
त्यस्तै अन्य दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने जनाइएको छ। उनीमाथि कुटपिट गरेको आरोप लागेका प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई विभागीय कारबाहीका लागि सिफारिस समेत भएको हो।
यस्तै अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ। उनलाई त्यहाँबाट हटाएर गृह मन्त्रालयमा तान्ने र आचरणको कारबाही समेत गर्न सिफारिस गरिएको छ ।
त्यसैगरी कमान्ड राम्ररी नगरेको भन्दै विमानस्थलमा कार्यरत डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन पनि सिफारिस भएको हो ।
गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबीच हातपात भएको थियो।





