आजपा मधेश प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेश बन्द गरेको हो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेश बन्द गरेको छ ।
यसैबीच प्रदर्शनमा उत्रिका सयौं नेताकार्यकर्तालाई प्रहरीले बिभिन्न ठाउँबाट पक्राउँ गरेको छ । मधेश प्रदेशको आठवटै जिल्लामा प्रदर्शन जारी रहेको छ । वीरगंज, कलैया, जनकपुर, गौर चन्द्रपुर, लालबन्दी, लहान, राजविराज लगायतका ठाउँमा प्रदर्शन जारी रहेको छ ।
प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्रभुषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउँ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जनकपुर स्थित कार्यालयमा राखेको छ ।
उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव सहित सयौं नेताकार्यकर्तालाई पक्राउँ गरी प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा राखेको छ ।
यसैगरी आजपा मधेश प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतकालाई पक्राउँ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको वीरगंजमा राखेको छ ।





