माघ ०९, डेस्क। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेका छन्। आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईई परीक्षाबारे निर्णय गरेको थियो । बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिला साताबाट परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, पहिला साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् । परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बोर्डले जनाएको छ ।
तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।
एसईई दिने अपाङ्गता भएका परीक्षार्थीको सहजीकरणका लागि केन्द्राध्यक्षले सम्बन्धित विद्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ।






