बस दुर्घटना (दाङ) : मृत्यु हुनेको संख्या १२ पुग्यो,४ जनाको सनाखत हुन् बाकी

|

पुस २८, डेस्क। दाङको राप्ती गाउँपालिका–१ भालुबाङ स्थित राप्ती नदीको पुलबाट हिजो राति बस खस्दा १२ जना को मृत्यु भएको छ। जस मध्ये ८ जनाको सनाखत भएको छ भने अन्य ४ जनाको सनाखत हुन बाकी छ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने ६० बर्षीय कुसुम बस्नेत, मकवानपुर बस्ने ३९ बर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ बर्षीय मुने, जुम्लाका ४० बर्षीय मुन बहादुर रावत, बाँकेका ३० बर्षीय रामवरण हरिजन, रुकुमका २५ बर्षीय दीपक कामी, भारत विहारका ६७ बर्षीय जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ। यस दुर्घटनामा परी २३ जना घाइते छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएको छ।

बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। नमस्ते यातायातको बसमा जम्मा ३६ जना यात्रु सवार भएका थिए। सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा बस खसेको बयान दिएका हुन् । बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको र यस घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित