पुस २६,डेस्क। सिराहामा मिटरब्याज पीडितमाथि खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीले अभद्र व्यबहारको मुद्दा दर्ता गरेको छ ।
सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।सिंहले गत सोमबार आफ्ना छिमेकी मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेका थिए ।
पीडित संजयले बुद्धबार इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दर्ता भएको डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो । तर, पीडितले उजुरी नदिंदा उनलाई त्यसदिन साँझ जमानतमा छाडिएको थियो । पीडितले जाहेरी दिएपछि बुधबार पुनः उनलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।
आज जिल्ला अदालत सिराहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ ।
तीन लाख रुपैयाँ ऋण लिँदा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पजियराले संजयको एक विघा एक कट्ठा जग्गा र डेढधुरमा रहेको घरघडेरी अदालतबाट डाकलिलाम गरी हत्याइसकेका छन् । त्यसमध्येका घरघडेरी र १० कठ्ठा जग्गा सिंहले आफू कब्जा गर्न सक्ने भन्दै सुरेशबाट सस्तोमा किनेका छन् । गत सोमबार त्यस घरमा पस्न खोजेपछि उनीमाथि खुकुरी प्रहारको प्रयास भएको थियो ।
पीडित संजयले मिटरब्याजी सुरेश पजियारका भाइ दिनेश पजियार र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।





