अयोध्या: श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको लागि नेपाली पुजारी बोलाउने

|

पुष २१,डेस्क। अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान् रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीतिरिवाजले विशेष पूजा १६ जनवरीदेखि प्रारम्भ हुँदै छ, पूजा २२ जनवरीको प्राण प्रतिष्ठासम्म चल्नेछ ।

प्राण प्रतिष्ठाका लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट १ जना विशेष पुजारीलाई निमन्त्रणा गरिएको छ । श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारणसहित शिलान्यास गराउने नेपाली मूलका पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई पुनः विशेष पूजाको लागि निम्तो गरिएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आचार्य दुर्गाप्रसाद गौतमलाई १६ जनवरी देखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणा पत्र पठाएका छन् ।

झापा जिल्लाको मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको बताए । उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको प्रतिक्रिया दिए ।

अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सन्त तथा धार्मिक संगठनका प्रमुखलाई निम्तो आएको छ । विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ साधु सन्तहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठा समारोहमा निम्तो आएको जानकारी दिए ।

निमन्त्रणा पत्र

चर्चित समाचार


भर्खरै प्रकाशित