पुस २०, डेस्क। सर्लाहीको बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शनकारीहरुले प्रहरीले बोकेको हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिएको छ। उनले भने,‘हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।’
प्रदर्शनकारीले मेयर कल्पना कुमारी कटवालको घरसँगैको टहरो र गाडी जलाएका छन् । प्रदर्शनमा सहभागी दुईजना घाइते भएका छन् । सुरक्षाकर्मी तर्फबाट पनि ८ जना प्रहरी घाइते भएको एसपी प्रवीणले बताए ।
प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते छन् । उनलाई उपचारका लागी वीरगन्ज पठाइएको छ । झडपपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवा नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ ।





