पुस १५,डेस्क। तराई मधेशमा आज देखि चिसो बढ्नुको साथै सितलहर सुरु भएको छ । पुसको दोस्रो साता अथार्थ (हिजो) देखि चलिरहेको बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । आज पुरै दिन घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । आज दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल निकै घटेको छ । येस्तो जाडोमा खासगरी बालबालिका, वृद्धवृद्धा, जनावर बढी प्रभावित हुने गर्दछन् भने कतिपय मानिस र जनावरहरु कठ्याएर मर्ने गर्दछन् ।
चिसो बढेसँगै बजारमा जाडोका कपडाको व्यापार निकै बढेको छ । जाडो याममा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु र अण्डाको बिक्री पनि बढेको छ । कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ । आकाशमा दिनभरनै लाग्ने गरेको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरको कारणले बिरुवा सुक्न थालेपछि किसानहरु मर्कामा परेका छन् ।
आज दिउँसो पनि घाम देखिँदैन । शरीर कठ्यांग्रिन थालेपछि मानिसहरुले बाक्लो लुगा लगाउन थालेका छन् । आर्थिक स्थिति कमजोर हुने तराईका विपन्न समुदायका लागि शीतलहर कहर मात्रै नभइ काल बनेर आउने गरेछन । यस्ता विपन्न गरिब समुदायको सिरक डसना भनेकै पराल हो । उनीहहरु कठ्यांग्रिएर आगो ताप्न पनि पराल नै बाल्ने गर्छन् भने पराल नै ओछ्याएर सुत्ने गर्छन् ।
मद्येश प्रदेशका विभिन्न जिल्लाहरु धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल नै बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ । दैनिक कामगरी खाने मजदूर बिहान बेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरिब तथा विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउन सकेका छैन।
मद्येश प्रदेशको राजधानी जनकपुरधामको पनि अवस्था चिन्ताजनक छ । एक्कासि चिसो बढेपछि विभिन्न जिल्लाका सरकारी कार्यालयमा आउने सेवाग्राही समस्यामा परेका छन् । सधैँ भिडभाड हुने सरकारी कार्यालयमा बढ्दो चिसोका कारण सेवाग्राहीको उपस्थिति पातलिँदै गएको छ ।
चिसोबाट बच्ने उपाय !
चिसोबाट जोगिन शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्न र आवश्यक काम नभएको खण्डमा घरबाहिर ननिस्किने। हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ । बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ ।





