सिन्‍धुली: तीन दिन सम्म बिजुलीको पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित सात जना पक्राउ

|

पुस १०, डेस्क। सिन्‍धुलीमा तीन दिन बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ। कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिएको छ ।

उनका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो। उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो। उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो।

उनी घटनास्थलमा पुग्दा गाउँस्थित घर अगाडिको बिजुलीको पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए।प्रहरी पुगेपछि भेला भएका स्थानीयहरू भाग्न थालेको एसपी सिलवालले बताए। शारदा भुइँमा लडेर बेहोस थिइन्। बिजुलीको पोलसँग बाँधिएका डोरीहरू पनि थिए,’ एसपी सिलवालले भने, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन्।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए। त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो।

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।

शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन । त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन्। कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न। तर उनका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताए।

ती स्थानीयहरूले सन्तोषलाई एक करोड भन्दा बढी रकम दिएको प्रहरीसमक्ष बताएका छन्। डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि उनीहरूले शारदालाई डिभोर्स नगराउन कुटपिट थालेको बयान प्रहरीसमक्ष दिएका छन्। आज जाहेरी आएपछि थप अनुसन्धान पनि होला। बयान सबैको लिन्छौं।

चर्चित समाचार


भर्खरै प्रकाशित