पुस ०९, डेस्क । नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको हो । शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए ।
डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महसुल नतिरेको भन्दै प्राधिकरणले शुक्रबार १ अर्बभन्दा माथि बक्यौता पुगेका चार उद्योगको लाइन काटेकोमा आइतबार भने ५० करोडमाथिको बक्यौता भएको थप दुई उद्योगको लाइन काटेको हो । शुक्रबार प्राधिकरणले रिलाइन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको लाइन काटेको थियो ।
नेपाल प्राधिकरणले ६० भन्दा धेरै उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपयोग गरेको भन्दै शुल्क असुल्न खोजेको छ भने उद्योग २४ घण्टा नै उपभोग नगरेकाले प्रयोग गरेको शुल्क मात्र तिर्ने पक्षमा देखिएका छन् । उद्योगीहरूले बिनामाग दिएको लाइनको महसुल तिर्न नसकिने र बरु उद्योगको चावी नै सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । उद्योगीले ६ अर्ब बक्यौता रहेकै बेला यसको विरोध गरेकोमा तीन वर्षपछि फेरि बिल पठाएर उद्योगीलाई तर्साउने काम भएको भन्दै छानबिन समिति गठन गर्नुपर्ने माग गर्र्दै आएका छन् । लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी रकम नतिर्ने अडानमा रहेका हुन् ।
महसुल संकलन विनियमावलीअनुसार महसुल नतिरेको ६० दिन पुगेपछि लाइन काट्नुपर्ने व्यवस्था छ । यसैलाई आधार बनाएर प्राधिकरणले प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशनमा बिजुली काटेको हो ।





