मंसिर २०,डेस्क।आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न खाले निर्णय गरेको छ।
NCELL प्रकरण छानविनको लागि समिति गठन गर्ने देखि खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष नियुक्त गर्नेसम्मका निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको हो।
सरकारका प्रवक्ता रेखा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविनका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।
समितिमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईसीएनका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।
त्यसैगरी बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।





