मङ्सिर १२,डेस्क। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्।
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्।
दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताए। प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको उनले बताए। यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए।
भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा छन्। उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको एसपी ढुंगेलले बताए।






