२२ कात्तिक, डेस्क। ग्लेन म्याक्सवेल अथाह पीडामा भएपनि उनले नटआउट रहेर २०१ रन बनाए । झन्डै-झन्डै रिटायर्ड हुन लागेका थिए ग्लेन म्याक्सवेल । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनलको यात्रा मात्र तय गरेको छैन, म्याक्सवेलको त्यो प्रदर्शनलाई एकदिवसीय क्रिकेटकै अहिले सम्मकै सर्वकालीन महान इनिङ्स हो भनेर पनि भन्न सुरु भएको छ ।
अस्ट्रेलियाले मंगलबार राति अफगानिस्तान विरुद्ध २९२ रनको लक्ष्य सफलता पूर्वक पर गरे। विश्वकप इतिहासमा यो अहिले सम्मकै तेस्रो दोहोरो शतक मात्रै हो । अझ लक्ष्य पछ्याउने क्रममा बनाइएको पहिलो दोहोरो शतक ।
म्याक्सवेललाई निकै गाह्रो भइरहेको थियो । एक स्थितिमा त उनी ढलेर लगभग उठ्नै नसक्ने भएका थिए । पछि दौडेर रन लिन त उनी लडखडाइरहेकै थिए ।
त्यति बेला उनी १४७ रनमा खेलिरहेका थिए र अस्ट्रेलियालाई जितका लागि अझै ५५ रन आवश्यक थियो । यही बेला म्याक्सवेलले बहादुरी देखाए । अविश्वसनीय रूपमा फेरि ब्याटिङका लागि तयार पनि भए ।
उनले आठौं विकेटका लागि आफ्ना कप्तान प्याट कमिन्स सँग २०२ रनको कीर्तिमान साझेदारी पनि गरे ।
म्याक्सवेलको यो प्रदर्शनले देखाउँछ, उनी आफ्नो देश अस्ट्रेलियालाई कति धेरै माया गर्छन् ।’
अहिले त पूरा विश्व क्रिकेट म्याक्सवेलको प्रशंसामा व्यस्त छ ।





