कात्तिक २१, डेस्क। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ।
प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीको पदबाट हटाएर काठमाडौं तानेको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई धनुषाको प्रमुखबाट फिर्ता बोलाइएको हो।
आरती साहको मृत्यु प्रकरणका कारण उनलाई जिम्मेवारीबाट मुक्त गरिएको गृह मन्त्रालयको स्रोतले बताएको छ।
माइतीघरमा आन्दोलन गरिरहेका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकार सँग वार्ता गर्ने अडान लिएका थिए।
उनीहरुको अडानकै कारण गृहमन्त्रालयले खड्कालाई फिर्ता गर्न निर्देशन दिएको हो।
सोमबार पनि गृहमन्त्री श्रेष्ठले वार्तामा आउन आग्रह गर्दा पीडित परिवारले एसपी साहलाई हटाउन माग गरेका थिए।
गत जेठ ७ गते साह आफ्नै घरमा मृत भेटिएकी थिइन्। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो।
तर मुद्दा कमजोर बनाएको र अनुसन्धानमा लापरबाही गरेको भन्दै आरतीका परिवारले आन्दोलन गरिरहेका छन्।






