कात्तिक१०,डेस्क। नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । टी–२० आई सिरिजमा नेपाल र युएई फाइनलमा पुगेका हुन् । फाइनल डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।
नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने योजनामा नेपाल छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।





