काठमाडौं । शक्तिकेन्द्रको बेवास्ता गर्दै बहालवाला सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरेका भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । संगठनभित्र उच्च व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका खत्रीलाई सोमबार गृहमन्त्रालयले काठमाडौं प्रहरी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बनाउँदै गर्दा विस्फोट भएर ज्यान गुमाएका र घाइते भएकालाई इटाभट्टाभित्र हालेर हत्या गरेको आरोप आलममाथि लागेको थियो । घटनाको झण्डै १२ वर्षपछि खत्री रौतहट प्रहरी प्रमुख रहेका बेला आलमलाई पक्राउ गर्न आफैं पुगेका थिए ।
त्यतिबेला प्रहरी प्रधान कार्यालयले आफूले पक्राउ गरे जसरी विज्ञप्ति निकाले पनि खत्रीले जिल्ला प्रहरी कार्यालयका रुपमा अर्को विज्ञप्ति निकालेर तत्कालीन प्रहरी नेतृत्वलाई काउन्टर दिएका थिए । खह्रो र हार्डलाइनर स्वभावका मानिने खत्री त्यसयता काभ्रेको प्रहरी प्रमुख भएर पनि काम गरेका थिए । २०५६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा थालेका खत्री आफ्नो ब्याचबाट एसएसपीको बढुवा निस्कँदा दोस्रो नम्बरमा रहेका थिए ।
गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पनि नेतृत्व परिवर्तन गर्दै त्यहाँ एसएसपी सोमेन्द्रसिंह राठोरलाई पठाएको छ। राठोर पनि खत्रीका इन्सपेक्टर ब्याची हुन् । उनीहरु एउटै मितीमा एसएसपीमा बढुवा भएका थिए। खत्रिभन्दा एक वर्षअघि प्रहरी सेवा सुरु गरेका राठोर यसअघि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् ।





